रुकुम / रुकुम पश्चिममा थुनुवा बोकेर फर्किएको जिल्ला कारागार कार्यालयको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।
बिहीबार बेलुकी करिब पौने ८ बजे मुसिकोट नगरपालिका–८ ताबलेस्थित मध्यपहाडी लोकमार्गमा कारागार कार्यालयको बा.प्र. ०३००१ च ३९५६ नम्बरको भ्यानले क.प्र. ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार आठबिसकोट नगरपालिका–८ का १८ वर्षीय निवास बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए।
मोटरसाइकल चालक आठबिसकोट नगरपालिका–१० का २० वर्षीय गणेश शाही गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित न्युरो अस्पताल लगिएको छ। दुर्घटनापछि कारागार कार्यालयको भ्यान चालक मुसिकोट नगरपालिका–२ रावतखेतका ५१ वर्षीय टेकबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार भ्यान रुकुम पूर्वस्थित जिल्ला अदालतमा थुनुवालाई साक्षी बयानका लागि पुर्याएर रुकुम पश्चिम फर्किरहेको थियो। मोटरसाइकल भने विपरीत दिशाबाट आइरहेको थियो। प्रहरीले प्रारम्भिक रूपमा मोटरसाइकल तीव्र गतिमा गलत साइडमा गएर भ्यानसँग ठोक्किएको दाबी गरेको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालकसँग सवारी चालक अनुमति पत्र रहेको वा नरहेको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ। परिवारका सदस्यसँग अनुमति पत्र माग गरिए पनि हालसम्म उपलब्ध नभएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ भने कारागार कार्यालयको भ्यान र मोटरसाइकल नियन्त्रणमा लिइएको छ।






































