काठमाडौं । आन्तरिक राजस्व विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गरेको छ । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कार्यक्रम सार्वजनिक गरेका हुन् ।
आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भूसालका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि उपहार घोषणा गरिएको हो ।
जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक-एक लाख रुपैयाँ नगद उपहार पाएका छन्।
१ लाख नगद उपहार पाउनेहरूको परिचय भने खुलाइएको छैन । करदाताको गोपनियता कायम गर्नका लागि परिचय नखुलाएको महानिर्देशक भूसालले जानकारी दिए ।
त्यस्तै, साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा गरिएको छ । जसमा शिव कृष्ण जनरल स्टोरमा (००७३१५२५४४९३) ले २५० को खरिद गर्नेले १० लाख रुपैयाँ नगद जित हात पारेको छ । यो १० लाख पुरस्कार रकममा भने कर लाग्नेछ।
करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ।
बैंक तथा वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन्। तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ।
नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्नेछ ।






































