काठमाडौं / नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा नयाँ क्रेडिट कार्ड लिने ग्राहकलाई आजीवन शुल्क नलाग्ने योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार आगामी २२ अगस्टसम्म आवेदन दिने नयाँ ग्राहकले कार्ड प्रयोग गरेसम्म ‘जोइनिङ फी’ र वार्षिक शुल्क तिर्नुपर्ने छैन। बैंकका ट्रान्जेक्सन बैंकिङ तथा एन बैंकका चिफ बिजनेस अफिसर निरज शर्माका अनुसार नियमित आम्दानी भएका ग्राहकले यो सुविधा लिन सक्नेछन्। तलबी कर्मचारी, व्यवसायी तथा घरभाडालगायत नियमित आम्दानी भएका व्यक्तिले नबिल बैंकका शाखा वा एन बैंक डिजिटल प्लेटफर्ममार्फत क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्।
क्रेडिट कार्डका लागि नियमित आम्दानी पुष्टि गर्ने कागजात, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइज फोटो र आवेदन फाराम आवश्यक पर्ने बैंकले जनाएको छ। व्यवसायीले व्यवसायसम्बन्धी वित्तीय विवरण तथा कर चुक्ता प्रमाणपत्रसमेत पेश गर्नुपर्नेछ। नबिल बैंकमा खाता नभएका ग्राहकले बैंक स्टेटमेन्ट उपलब्ध गराउनुपर्नेछ। डिजिटल सेवामार्फत ग्राहकले घरबाटै क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
एन बैंक एप वा वेबमार्फत आवेदन दिएपछि आवश्यक कागजातसमेत अनलाइनबाटै बुझाउन सकिने बैंकले जनाएको छ।बैंकका अनुसार क्रेडिट कार्डमा अधिकतम ४५ दिनसम्म ब्याज नलाग्ने सुविधा छ। त्यस्तै, नबिलसँग आबद्ध विभिन्न व्यापारिक प्रतिष्ठानबाट सामान खरिद गर्दा ‘बाइ नाउ पे लेटर’ अर्थात् बीएनपीएल सुविधामार्फत किस्तामा भुक्तानी गर्न सकिनेछ। क्रेडिट कार्ड प्रयोगकर्ताले रेस्टुरेन्ट, होटल, अस्पताल, डाइग्नोस्टिक सेन्टर, सपिङ मललगायत साझेदार संस्थामा विभिन्न छुट तथा अफरसमेत पाउने बैंकले जनाएको छ।
अनलाइन कारोबारमा सामान नआएको वा विवरणअनुसारको वस्तु प्राप्त नभएको अवस्थामा ‘चार्जब्याक’ लगायतका सुरक्षा सुविधा उपलब्ध हुने बैंकको भनाइ छ। यसैगरी, नबिलको डोमेस्टिक क्रेडिट कार्ड नेपालसँगै भारतमा समेत प्रयोग गर्न सकिने बैंकले जनाएको छ। बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न इलेक्ट्रोनिक पेमेन्ट गेटवे ९ईपीजी० इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत तथा सेफ डिपोजिट लकरको सुरक्षण धरौटी शुल्कमा ४२ प्रतिशत छुट दिने जनाएको छ।
वार्षिकोत्सवका अवसरमा घोषणा गरिएका यी विशेष अफरहरू आगामी २२ अगस्ट २०२६ सम्म लागू हुने बैंकले जनाएको छ।




































