काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ।

बोर्डले बिहीबार राति परीक्षाको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार मौका परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो।

बोर्डले परीक्षामा सहभागीमध्ये तीन परीक्षार्थीको परीक्षाफल भने रद्द गरेको जनाएको छ। प्राविधिक कारणले नतिजामा कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा आवश्यक सुधार गरिने बोर्डले जनाएको छ। कक्षा १२ को मौका परीक्षा यही साउन २ र ३ गते सञ्चालन गरिएको थियो।

परीक्षार्थीले आफ्नो नतिजा बोर्डको वेबसाइट, एसएमएस तथा आईभीआर सेवामार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ।