अंकारा : टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते गएको भूकम्पमा परी  ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्। टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ।

विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज साँझदेखि खोजी तथा उद्धार स्थगन गरिने जनाउँदै ४ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएको छ। साथै खोज तथा उद्धारमा १३ हजार स्वयम्सेवक एवम् अन्य सहायताकर्मी परिचालन गरिएको जनाइएको छ।

OM Sai Pathibhara Hospital

हालसम्म टर्कीमा ४० हजार छ सय ४२ जना तथा सिरियामा ५ हजार आठ सयले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीले बताएका छन्। उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन्। टर्कीमा तीन लाख ४५ हजार भवन भत्केका छन् भने भग्नावशेषमा धेरै हराइरहेका छन्।

विश्व खाद्य कार्यक्रमले सिरियमा मानवीय सहायता सामग्री परिचालनमा कठिनाइ भएको जनाउँदै अवरोध नगर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ। उत्तरपश्चिम सिरियामा मानवीय सहायता उपलव्ध गराउन कठिन भएको उक्त संस्थाले बताएको छ। सिरियाली अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा आफ्नो पहुँचमा अवरोध खडा गरेको आरोप उक्त संस्थाले लगाएको छ।