काठमाडौं - क्यानडाको आकाशमा उडिरहेको एक अज्ञात वस्तुलाई अमेरिकी वायु सेनाको युद्धक विमानले क्षेप्यास्त्र प्रहार गरी खसालेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पछिल्लो पटक देखिएको उक्त अज्ञात वस्तुले क्यानडाको हवाई क्षेत्रको उल्लंघन गरेको र उत्तर पश्चिम क्यानडाको युकोनमा खसालिएको पुष्टि गरेका छन्।

पछिल्लो साता अमेरिकी आकाशमा उडिरहेको चिनियाँ जासुस बेलुनलाई खसालिएको चर्चा सेलाउन नपाउँदै फेरि अर्को अज्ञात वस्तु भेटिएको यो तेस्रो घटना हो।

OM Sai Pathibhara Hospital

उक्त वस्तुलाई खसाल्न तथा पछ्याउन क्यानडा र अमेरिका दुवै देशका वायु सेनाको यान परिचालन गरिएको र अमेरिकी एफ २२ युद्धक विमानले उक्त वस्तुलाई क्षेप्यास्त्र प्रहार गरी खसालेको प्रधानमन्त्री ट्रुडोले बताए।

पछिल्लो साता उत्तरी अमेरिकाको आकाशमा उडिरहेको एक अज्ञात वस्तुलाई खसालिएको थियो। त्यसअघि चिनियाँ जासुसी बेलुनलाई अमेरिकाले खसालेको थियो।

खसालिएको उक्त वस्तुको भग्नावशेष संकलनको कार्य भइरहेको र त्यसको अध्ययन हुने बीबीसीले जनाएको छ।