काठमाण्डाै - पैसाका लागि अपहरणमा परेकाे नाटक गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। अपहरणमा परेको भनी नाटक गर्ने छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको हाे ।

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१३ बस्ने ४७ वर्षका विदुर बस्नेत, चितवनको भण्डारा घर भइ अहिले नैकाप बस्ने दिलीप विक, सर्लाही घर भइ बालाजु बस्ने भोला महतो, काभ्रेका जगतबहादुर भोलान, कान्छामाया जिम्बा तथा धादिङका आशमान लामा रहेका छन् ।

उनीहरू सबै चिनजानका मान्छे रहेका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताउनु भयाे। उनीहरूमध्ये विदुर बस्नेतले जगतबहादुरसँग पैसा सापटी लिएको तर लामो समयसम्म नतिरेको र त्यही कारण बस्नेतको परिवारबाट पैसा असुल गर्न अपहरणको नाटक गरेको फेला परेको राठौरले जानकारी दिनुभयो ।

नाटक तयार पारि उनीहरू काठमाण्डौको चन्द्रागिरि–१३ पुरानो नैकापमा रहेकाे कङ्काली पिस ब्याम्बो रिसोर्टमा बसेका थिए । त्यहाँबाट बस्नेतको परिवारमा अपहरण परेको र पैसा दिए छुटाइदिने भनेर फोन गयो।त्यसपछि परिवार सूचना लिएर प्रहरीमा पुग्यो । अनि महाशाखाको टोली आवश्यक रणनीति बनाएर कलङ्कीमा पैसा दिने सहमति बन्यो । त्यही बेला पैसा लिन आएका जगतबहादुर भोलानलाई नियन्त्रणमा लिइएको थियो । 

उनको बयानका आधारमा उनीहरू नैकापमा रक्सी खाएर बसेको पत्ता लागेपछि अन्य पाँचलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । उनीहरूलाई थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी परिसर काठमाण्डौमा बुझाइएको कार्यालयले जनाएको छ ।