संसद्भवन अगाडिकाे सडकमा मंगलबार आफैँलाई आगाे लगाएका इलामका प्रेमप्रसाद आचार्यकाे निधन भएकाे छ । उनकाे कीर्तिपुर अस्पतालमा आज बिहान ५ बजे उपचारका क्रममा निधन भएकाे हाे । मंगलबार अपराह्न सामाजिक सञ्जालमा देशमा बाँच्न नसक्ने अवस्था रहेकाे भन्दै स्टाटस मार्फत उनको फेसबुक पेजमा लेखेर संसद् भवनअगाडि पुगेर आफ्नै शरीरमा आगाे लगाएका थिए ।
प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्याएकाे थियाे । चिकित्सकहरूले आचार्यकाे शरीरकाे ८० प्रतिशत भाग जलिसकेकाे बताएका थिए । आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. ताेसिमा कार्की अस्पताल हिजै पुगेकी थिइन् । त्यतिबेला आचार्य बाेल्न सक्ने अवस्थामा थिए । राज्यमन्त्री कार्कीलाई पनि आचार्यले देशमा कसैले पनि बाँच्ने वातावरण नभएको गुनासाे गरेका थिए ।
उनले आफूलाई भेट्न गृहमन्त्री रवि लामिछानेलाई पनि पठाइदिन आग्रह गरेका थिए । आज बिहान ५ बजे उहाँकाे निधन भएको छ।
आचार्यले आत्मदाह प्रयास गर्नुअघि फेसबुकमा साढे ६ हजार शब्दको स्टाटस लेखेका थिए । जसमा उनले जीवनमा पाएका हण्डर र ठक्कर उल्लेख गरेका छन् । उनले आत्मवृतान्त लेख्दै गर्दा अस्तव्यस्त मुलुकमा एउटा व्यवसायीले भोगेको पीडा बाहिर आएको छ । देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा र उद्योग चलाउँदा भोग्नुपरेका समस्या र ती समस्याहरूबाट पाएको ठक्करका चाेटहरू उनले आत्मवृतान्तमा उतारेका छन।