झापा / जनकपुरका दुई युवाको अपहरण पछि भारतमा हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर –८ का  २५ वर्षीय रोहित साह र वडा नम्बर–१३ का  २२ वर्षीय  विष्णु साहको हत्या भएको हो ।

आइतबार बिहान भारत बिहार राज्यको पर्सा गाउँ पश्चिमतर्फ दुबै युवकको शव फेला परेको छ । दुई साता अघि दुबै जना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका थिए ।

OM Sai Pathibhara Hospital

गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबै जनाको परिवारलाई अपहरणकारीले गत सोमबारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो ।

अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए ।

आइतबार बिहान शव फेला पारेपछि उनीहरूका आफन्तहरूलाई भारतीय प्रहरीले खबर गरेको थियो । उनीहरूको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

घटनापश्चात प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनीहरूको नाम अहिले गोप्य राखिएको छ । चारजना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।

‘शव  ल्याउन प्रहरी भारतको बिहार राज्य पुगेको छ । घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको प्रहरीले दावी गरेको छ ।