झापा / कनकाई –१ स्थित पूर्वपश्चिम राजमार्गबाट सय मिटर दक्षिणतिर प्रवेशद्वारमा स्थापित पूर्णकदको पृथ्वीनारायणको सालिकले नागरिकलाई एकीकरणकर्ताको योगदानहरूको सुखद् स्मरण गराउने राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझा बताएका छन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले राष्ट्रनिर्माता पृथ्वीनारायणलाई राजमार्गमा हिँड्ने हरेक यात्रीले देखुन् र सम्मान अर्पण गर्न सकुन् भनेर नगरपालिका जाने प्रवेशद्वारमै सालिक स्थापना गरिएको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

नगरपालिकाले पृथ्वीनारायण शाहको सालिक निर्माणका लागि रु सात लाख बजेट विनियोजन गरेको थियो । झापाका मूर्तिकार हिम्मत नेम्वाङले मोरङको मिक्लाजुङ बाट ल्याइएको एउटै ढुङ्गामा पृथ्वीनारायण शाहको उक्त सालिक कुँदेका हुन् ।

नगरको यो सालिक अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । नजिकैको जामुनखाडी, हेप्पील्यान्ड, धनुषकोटीधाम, कोटीहोम र दोमुखामा घुमघामका लागि आउने आन्तरिक पर्यटक सालिकमा रोकिएर सेल्फी फोटो खिचाउने गर्छन् । यसपालि कनकाई नगरपालिकाले ‘पृथ्वीनारायण शाह र आधुनिक नेपाल’ विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार न्यौपानेले जानकारी दिए ।

त्यसैगरी झापाको अर्को गाउँपालिका हल्दीबारी नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको योगदानको सम्मानमा बर्सेनि स्थानीय बिदा दिँदै आएको छ । मुलुक सङ्घीयतामा प्रवेश गरेपछि नेपालमै पहिलोपटक हल्दीबारीले पृथ्वी जयन्तीमा बिदा दिने परम्पराको थालनी गरेको पालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताएका छन्। 

पालिकाका अध्यक्ष लिङ्देनले आफ्नो कार्यकक्षमा विगत पाँच वर्ष अघिदेखि नै पृथ्वीनारायण शाहको तस्वीर राख्दै आएका छन् । पुस २७ गते स्थानीय बिदा दिने निर्णय उनले सुरुआत गरेपछि झापाको कचनकवल र गौरीगञ्जमा समेत स्थानीय बिदा दिने गरिएको थियो ।