धरान / समूहमा आएका महिलाहरूको कुटपिटपछि घाइते भई मृत्यु भएकी धरान १३ की एकल महिला उषा राईको हत्या मुद्दामा सुनसरी जिल्ला अदालतले आरोपित ३ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आरोपित एक जना भने धरौटीमा छुटेका छन् ।

न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश गरेको हो । अदालतले आरोपी रत्ना सुब्बालाई भने १ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।

OM Sai Pathibhara Hospital

अदालतको आदेशअनुसार ३ जनालाई कोभिड परीक्षणपछि झुम्का कारागारमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन् ।

घटनाका फरार रहेको भनिएका आरोपित निरकुमारी गुरुङ, सिर्जना राई र मिना राईलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । पीडितले दिएको जाहेरीमा उल्लेख भएकी मिना राईलाई प्रहरीले अझै पहिचान गर्न सकेको छैन ।