काठमाडौं / अनलाइन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानीलकण्ठ नगरपालिका –८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका –४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन् ।
काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाइन सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पोखरेललाई जमलबाट र पवनलाई नरदेवीबाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूले कतारमा जारी फिफा विश्वकप लगायत विभिन्न खेलहरूमा अनलाइन सट्टाबाजी गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।






































