विराटनगर / धारिलो हतियार प्रहारबाट टाउको र कानमा चोट लागेको अवस्थामा शनिबार राति फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । हतियार प्रहारबाट मोरङको जहदा गाउँपालिका- १ भुटाहाका ४२ वर्षीय सन्तोष सरबरियाको मृत्यु भएको हो । 

सरबरिया शनिबार राति ११: २० बजेतिर आफ्नै घरमा घाइते अवस्थामा फेला परेका थिए । गम्भीर अवस्थाका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएको थियो । उनी टाउकोमा धारिलो हतियार प्रहार गरिएको तथा बोल्न नसक्ने अवस्थामा घरभित्रै भेटिएका थिए । 

OM Sai Pathibhara Hospital

उपचारकै क्रममा राति १२: २५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ । हाल उनको शवलाई कोसी अस्पतालमा राखिएको छ ।