एजेन्सी  / मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा घुम्ती सेवा सुरु गरेको छ । 

राजदूत डिल्लीराज पौडेलका अनुसार वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली श्रमिकको सुविधाका लागि श्रमिकहरू कार्यरत रहेको शहरमै दुतावासबाट सेवा प्रवाह गर्न घुम्ती सेवा सञ्चालन गरिएको हो । 

OM Sai Pathibhara Hospital

बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरेका छन् । गैरआवासीय नेपाली संघ लगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा संचालन गरिएको हो ।

एक हजार भन्दा धेरै नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानी सम्वन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानी सम्बन्धी सेवाका साथै दुतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरू प्रदान गरिएको नेपाली दुतावासले जनाएको छ । 

घुम्ती सेवा उद्घाटनका क्रममा राजदूत पौडेलले नेपाली श्रमिकहरू कार्यरत कम्पनीहरूको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकहरुसँग अन्तरक्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल समेत गरेका थिए ।

सुरक्षा गार्ड तथा सरसफाइ सम्बन्धी कम्पनीहरूमा कार्यरत नेपाली श्रमिकहरूको गुनासो आएपछि उनले सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन् ।

विशेषत सुरक्षागार्ड र सरसफाइ सम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम–सम्झौता २०१८ र मलेसियाको श्रम कानुन अनुसार व्यवस्थित गर्न लागिएको राजदूत पौडेलले बताए । राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थापनलाई दुतावासमा बोलाएर समेत छलफल गर्दै आएका छन् ।