बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका -११ स्थितबाट अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको बा ११ च ३०४२ नम्बरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैयाँ समेत बरामद गरेको हो ।

अवैध गाँजा बरामद भए सँगै सवारी साधन र चालक इटहरी उपमहानगरपालिका-४ सुनसरीका ३१ वर्षीय मनिस दर्नाल र सहचालक ३१ बर्षीय योगेन्द्र बजगाईँ समेतलाई  प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरूको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद ‍थप गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम  इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।