एजेन्सी / भारतको गुजरातमा झोलुङ्गे पुल चुँडिदा १३७ जनाको मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।  आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुँडिएको हो । घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएका छन् । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरूले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरूलाई पनि घटनास्थलमा परिचालन गरिएको छ ।

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेसँग भेटघाट गरेका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । मोरबी पुल हालैमात्रै मर्मत गरिएको थियो । उक्त पुलमा चढ्नका लागि भारु १७ रुपैयाँ शुल्क लिइन्थ्यो ।

OM Sai Pathibhara Hospital

आइतबार साँझ उक्त पुलमा क्षमताभन्दा बढी मानिसहरू रहेकाले पुल चुँडिएको अनुमान छ । मोरबी पुल वर्षौं पुरानो हो । केही वर्षयता बन्द रहेको उक्त पुल मर्मत गरेर दीपावलीको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त पुल गुजरातको मोरबीलाई खास पहिचान दिलाउने उद्देश्यले आधुनिक युरोपियन प्रविधि प्रयोग गरेर बनाइएको थियो ।