एजेन्सी  / चिनियां राष्ट्रपति सी जिनपिङ तेस्रो पटक महासचिव चयन भएका छन् । बेइजिङमा सम्पन्न भएको चिनियां कम्युनिष्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनमा जिनपिङ तेस्रो पटक महासचिव चयन भएका हुन् ।

बेइजिङमा शनिवार सम्पन्न भएको महाधिवेशनमा २ सय ५ सदस्यीय केन्द्रीय समिति र १ सय ७१ सदस्यीय वैकल्पिक केन्द्रीय समिति घोषणा भएको थियो ।

OM Sai Pathibhara Hospital

चीनमा २०१८ मा दुई कार्यकाल राष्ट्रपति हुन पाउने नियम हटाइएको थियो । पार्टी महासचिवमा निर्वाचित भएसँगै जिनपिङले अरु पाँच वर्षको चीनको नेतृत्व गर्ने निश्चित भएको छ ।

चीनमा २०१२ मा पार्टी महासचिव र २०१३ राष्ट्रपति बनेका सी जिनपिङ तेस्रो कार्यकालका लागि महासचिव बनेसँगै सर्वोच्च नेताका रुपमा उदाएका छन् । उनी महासचिव, राष्ट्रपति र केन्द्रीय सैन्य आयोगको अध्यक्ष समेत छन् । जबकी उनीभन्दा अघिका राष्ट्रपति हु जिन्ताओले यी सबै जिम्मेवारी पाएका थिएनन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले सीलाई माओत्से तुङपछि सबैभन्दा शक्तिशाली चिनियां नेताका रुपमा उदाएको समाचार प्रकाशित गरेका छन् । पाँच वर्षअघि भएको महाधिवेशनले ‘नयाँ युग सुहाउँदो चिनियां विशेषतासहितको समाजवादसम्बन्धी सी विचारधारा’ पारित गरेको थियो । 

यसपटक भने विधान नै संशोधन गरिएको छ । अव सीको विचारलाई पार्टी सिद्धान्त मानिनेछ । त्यसका साथै उनलाई पार्टीको केन्द्र मान्ने र नेतृत्वको रक्षा र विचारलाई पार्टीका सबै सदस्यले पालना गर्नुपर्नेछ ।

चीनमा माओ ८३ वर्ष र देङ ८५ वर्षसम्म नेतृत्वमा रहेका थिए । सी अहिले ६९ वर्षका भएका छन् । यसबाट पनि उनले चीनमा लामो समय नेतृत्व गर्न सक्ने धेरैको अनुमान छ ।