एजेन्सी / इन्डोनेसियामा ९९ जना बालबालिकाको मृत्यु भएपछि सरकारले देशैभर सबै सिरप र झोल औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ । सिरप औषधि सेवन गरेका ९९ जना बालबालिकाको मिर्गौलामा समस्या देखिएर ज्यान गएको हो । ज्यान गुमाउनेमा धेरै जना पाँच वर्षमुनिका रहेका छन् । थप जानकारी सङ्कलनको काम भइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान छ । इन्डोनेसियाको सरकारले घटनाको अनुसन्धान भइरहेको र सिरप र झोल औषधिको बिक्रीमा रोक लगाइएको जनाएको बीबीसीले उल्लेख गरेको छ । औषधिले बालबालिकाको मिर्गौलामा तीव्र रूपले असर गर्ने गरेको खबरमा उल्लेख छ । ती औषधि आयात गरिएको हो कि स्थानीय उत्पादन हो भन्ने स्पष्ट भइसकेको छैन ।

इन्डोनेसियाका स्वास्थ्य मन्त्रीले स्थानीय रूपमा प्रयोग हुने केही औषधिहरूमा यसअघि गाम्यिामा जस्तै रासायनिक तत्त्वहरू भेटिएको बताउनुभएको छ । बिरामी बालबालिकाका लागि प्रयोग हुने केही सिरपहरूमा एथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल समावेश भएको प्रमाणित भएको थियो । यो केमिकल औषधिमा प्रयोग गर्नु हुँदैन । यस महिनाको सुरुमा गाम्बियामा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि खाँदा ७० जना बालबालिकाको ज्यान गएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले औषधिमा प्रतिबन्ध लगाएको थियो ।