जुम्ला  / अविरल वर्षाका कारण आएको पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार कनकासुन्दरी गाउँपालिका –५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

घरमुली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका आठ वर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीय विद्या शाहीको मृत्यु भएको प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । 

सो घटनामा स्थानीय सरस्वति हमाल र रामबहादुर हमाल घाईते भएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्द सहितको टोली थप उद्धारका लागि गएको छ ।

यस्तै बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर बेपत्ता भएका छन् । हिमा गाउँपालिका –३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उनका ३ वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको खोजी भइरहेको छ ।