एजेन्सी / बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार साँझ उनको निधन भएको हो ।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुई १४ औं पछि दोस्रो स्थानमा पर्छिन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् ।
एलिजाबेथलाई ‘स्थायित्व र निरन्तरता’ को प्रतिनिधित्व गर्ने शालीन राष्ट्राध्यक्षका रुपमा लिइन्छ । एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन् । उनी बेलायतको महारानी बन्ने सम्भावना निकै कम थियो । तर सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो ।
बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनेकी थिइन् । पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षमै राजगद्दी आरोहण गरेकी थिइन् । त्यतिबेला दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तंग्रिने प्रयासमा थियो ।
करिब १२० देशको भ्रमण गरेकी एलिजाबेथले संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान राखेकी थिइन् । महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गरेकी छन् ।






































