झापा / पछिल्लो समय समाजमा बढ्दो अपराधको रूप लिइरहेको बलात्कारका घटना तीव्र रुपमा बढिरहेका छन् । त्यसमा पनि विषेश गरी २० वर्ष मुनिका किशोरीहरू बलात्कारको सिकार हुने गरेका छन् । जसको उदाहरण हुन शिवसताक्षिकी पाँच वर्षीय बालिका । 

शिवसताक्षी नगरपालिका –४ बस्‍ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीले गत भदौ १० गते ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। पीडितका आफन्तले प्रहरीमा उजुरी दिए लगतै बुधबार इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान भइरहेका छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै भदौ १३ गते १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका –४ सरस्वती टोल बस्ने २७ वर्षीय अदित खड्कालाई पनि प्रहरीले पक्राउ गरेको थियाे । अदितले ती किशोरीलाई राति घर नजिकैको चिया बगानमा लगेर बलात्कार गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए । 

यस्तै १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दीबारी गाउँपालिका –२ बस्ने ३० वर्षीय इन्द्रजित मण्डललाई पक्राउ गर्यो । मण्डलले ती बालिकालाई ललाइ फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले मण्डललाई पक्राउ गरेलगतै १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका –१५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई पनि पक्राउ गरको थियो ।

उल्लेखित घटनाहरू बलात्कारका केही प्रतिनिधि घटना मात्र हुन् । यसै आर्थिक वर्षको हालसम्म जिल्लामा २३ जना बलात्कृत भएका छन् भने चार जनामाथि बलात्कारको प्रयास भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन देखि हालसम्म उक्त घटना भएका हुन् । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा जबर्जस्ती करणीका ९६ जाहेरी परेका थिए । ती मध्ये ८० जनालाई पक्राउ गरी कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ । 

सोही अवधिमा बाल यौन दुराचारका २४ र जबर्जस्ती करणी उद्योगका २५ घटना भएका तथ्याङ्कमा उल्लेख छ । बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासमेत छन्। अधिकांश बलात्कारका घटनामा प्रायः परिवार, नातागोता, शिक्षक र छरछिमेकी अभियुक्त पाइएको प्रवक्ता पाठकले बताए । 

कतिपय बालिका र महिलाको बलात्कारपछि हत्या भएको छ । बलात्कारले महिलालाई शारीरिक मात्र नभइ मानसिक रूपमा पनि त्यत्तिकै असर पुर्‍याउँछ र पुर्‍याइरहेको छ ।

देशभर बलात्कार विरुद्धका अभियान, कार्यक्रमहरू सञ्चालन गरिए पनि बलात्कारका घटनाहरू भने प्रत्येक वर्ष बढि नै रहेको छ । जसमध्ये आर्थिक अवस्था कमजोर भएका, विपन्न, अपाङ्गता भएका, नाबालिका, गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको शिकार हुने गरेका छन् ।

प्रहरी अनुसन्धानमा विभिन्न लोभ लालच, डर, धम्की देखाएर बलात्कार गर्ने गरेको खुलेको छ । रक्षा नेपाल, माइती नेपाल, मानव अधिकार तथा शान्ति समाज लगायतका विभिन्न संघ संस्थाहरुले बलात्कारका विरुद्ध आवाज उठाउनुका साथै विभिन्न सचेतनात्मक कार्यक्रमहरू गर्दै आएका छन् ।

प्रहरीले विभिन्न जनचेतनाका कार्यक्रम पनि गर्दै आएको छ । तर बलात्कारका घटनाहरू भने निरन्तर बढिरहेका छन् । प्रहरीले बलात्कारका विरुद्धमा लगातार कारवाही अगाडि बढाएको छ भने कानुनी व्यवस्था पनि थप कडा गरिएको छ । तर पनि बलात्काका घटनाहरू घट्नुको साटो वृद्धि भइरहेका छन् ।

नेपालमा बलात्कार तथा यौन जन्य अपराधका संबन्धमा विभिन्न कानुनी व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा वालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

त्यस्तै, मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एचआइभी पोजिटिभ) भएको थाहा पाउँदा पाउँदै जबर्जस्ती करणी भएको भए दफा १०५ बमोजिमको सजाय, अन्य सरुवा यौनरोग भएको थाहा पाउँदा पाउँदै जबर्जस्ती करणी भएको भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनले गरेको छ । 

१० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद हुने कानुनी व्यवस्था छ ।

त्यस्तै १० देखि १४ वर्ष उमेरकी बालिकालाई बलात्कार गरे २० बर्षसम्म कैद, १४ देखि १६ वर्ष उमेरकी बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैद र १६ देखि १८  उमेर समूहकी महिला भए १० देखि १२ वर्षसम्म कैद हुने ब्यवस्था कानुनमा छ ।

यदि १८ वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सातदेखि १० वर्र्षसम्म कैदको हुने छ भने सामूहिक रुपमा जवर्जस्ती करणी गरेमा उपदफा ३ मा लेखिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।