एजेन्सी / पाकिस्तानमा बाढी पहिरोबाट पछिल्लो समय ३ करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढी पहिरोले देशका ७२ जिल्लामा असर पारेको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

गत मध्य जुनदेखि सुरु भएको मनसुन पछिका वर्षा जन्य घटनामा परी ठूलो धनजनको क्षति भएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने सो प्रान्तमा मात्रै एक करोड ४५ लाख मानिस प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

OM Sai Pathibhara Hospital

बाढी पहिरोका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ । सयौँ मानिस बेपत्ता र गम्भीर घाइते भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने उद्धारकर्ताहरुले जनाएका छन् ।

यस बर्षको प्राकृतिक प्रकोप तीस वर्ष यताकै सबैभन्दा बढी घातक देखिएको प्राधिकरणका अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरोलगायतका घटना भएको प्राधिकरणले जनाएको छ । बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन् ।

त्यसैगरी करिब सात लाख घर क्षतिग्रस्त भएका छन् भने १५० भन्दा बढी पुल भत्किएका छन् । लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र ठूलो मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको छ ।

सरकारले गत बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ ।

उनीहरूले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरूको आवश्यकता रहेको बताएका छन् ।