एजेन्सी  / इजरायल र विद्रोही लडाकु समूहका बीचमा युद्ध विराम गर्ने सहमति भएको छ । इजरायलका प्रधानमन्त्री याइर लापिडका अनुसार सोमबार मध्यरातदेखि लागू हुनेगरि युद्ध विरामको सहमति भएको हो । 

लामो समयदेखि उनीहरूका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो । भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । ठूलो क्षति र सर्वत्रको दबावपछि युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका हुन् ।

इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खवर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशियाली मनाएका छन् । इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्ध विरामको वातावरण बनाएकोमा इस्लामिक जिहादका प्रवक्ताले खुशी व्यक्त गरेका छन् ।

इजरायलले गत सोमवार राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाव बढेको थियो । इरानले समर्थन गरेको इस्लामिक जिहाद समूह गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह मानिन्छ।