एजेन्सी / दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा परी आफ्ना वरिष्ठ कमाण्डर खालिद मन्सुरको मृत्यु भएको  छ । प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले मन्सुरको मृत्यु भएको पुष्टि गरेको हो । 

नागरिक प्रतिरक्षा टोलीले इजरायली बमबारी भएको भग्नावशेष घण्टौंसम्म खनेपछि मन्सुर र उनका धेरै साथीको शव निकालेको प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे)ले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

इजरायल तथा गाजा क्षेत्रमा दुई दिनयता हिंसा भड्किएको बताइएको छ । सो हिंसामा परेर दुई दिनयता २४ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् ।

यसअघि सन् २०२१ को मेमा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ युद्धविराम सम्झौता गरेर युद्ध रोक्ने पहल भएको थियो । त्यसपछि रोकिएको युद्ध पछिल्ला केही दिनमा पुनःसुरु भएको छ ।

इजरायलका सैनिक प्रवक्ता अबिचा आदरीले इजरायली सेनाले उक्त अतिवादी समूहलाई लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ ।

इजरायली सेनाले दक्षिणी गाजा स्ट्रिपमा रहेको एक घरमा हमला गरेका थिए । उक्त हमलामा परेर केही प्यालेस्टाइनी मारिएका छन् र ३० जना घाइते भएका थिए । शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका सदस्यलाई पक्राउ गरेको थियो ।