काठमाडौं / श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्ष देश छोडेर भागेका छन् । 

बीबीसीका अनुसार मुलुकमा आर्थिक सङ्कटको विषयलाई लिएर चर्किइरहेकाे आन्दोलनका बीच राजपाक्षे सैनिक विमान मार्फत मुलुक छाडेर भागेका हुन् । 

OM Sai Pathibhara Hospital

७३ वर्षीय राजपाक्षे स्थानीय समय अनुसार सोमबार राति ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । श्रीलङ्काको वायुसेनाले राजपाक्षे आफ्नी श्रीमती र दुई सुरक्षा अधिकारीहरूका साथ माल्दिभ्स तर्फ उडेको पुष्टि गरेको छ ।

उनका भाई एवं पूर्वअर्थमन्त्री बासिल राजपाक्षेले पनि देश छोडेर अमेरिका जाने बताइएको छ । राष्ट्रपति देश छोडेर भागेको खबर सार्वजनिक भएसँगै स्थानीयले खुसी मनाएका छन् ।

राजपाक्षेको बहिर्गमनसँगै श्रीलङ्कामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासनको पनि अन्त्य भएको छ । गएको शनिबार त्यहाँका प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका थिए । त्योसँगै राजपाक्षे अज्ञातस्थलमा लुकेका थिए ।

उनले जुलाई १३ (आज)मा पदबाट राजीनामा दिने यसअघि नै घोषणा गरेका थिए । तर, त्यसअघि नै भागेका हुन् ।

श्रीलङ्कामा उत्पन्न अभूतपूर्व आर्थिक सङ्कटका लागि राजपाक्षेको प्रशासनलाई दोष दिइएको छ। महिनौँदेखि दैनिक विद्युत् कटौती तथा इन्धन, खाना र औषधि जस्ता आधारभूत सामग्रीको अभावविरुद्ध मानिसहरू सङ्घर्ष गरिरहेका छन्।

पदमा रहँदा अभियोगबाट उन्मुक्ति पाएका यी नेता पदमुक्त भएपछि नयाँ प्रशासनको गिरफ्तारीबाट बच्न विदेश भागेको ठानिएको छ।