झापा / श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन् । प्रदर्शनकारीले घर कब्जामा लिएपछि गए राति राष्ट्रपति राजापाक्षेले राजीनामा दिने बताएका हुन् ।

राष्ट्रपति राजापाक्षेले राजीनामा दिएपछि सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसद्ले नयाँ नेता चयन गर्ने बताइएको छ ।
शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए ।

OM Sai Pathibhara Hospital

श्रीलङ्कामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीले महिनौँदेखि राष्ट्रपति राजापाक्षेको राजिनामा माग गर्दै प्रदर्शन गर्दै आएका थिए । 

यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा शनिबार आगजनी गरेका छन् । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सेनाले अश्रुग्यास प्रहार गरे पनि उनीहरु प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । 

प्रदर्शनकारीले प्रधानमन्त्री विक्रमासिंघेको गाडीमा तोडफोड समेत गरेका थिए । मे महिनामा प्रधानमन्त्रीमा नियुक्त भएका विक्रमासिंघेले पनि सरकारको निरन्तरता र सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले ट्विटरमार्फत् पनि आफू सरकार छोड्न तयार रहेको उल्लेख गरेका छन्।