झापा / गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । आबेको निधन भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

">चुनावी अभियान अन्तर्गत आज (शुक्रबार) बिहान जापानको नारा शहरको एक सडकमा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

दुई पटक गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि  बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जापान टाइम्सका अनुसार घटनालगत्तै प्रहरीले आबेमाथि गोली प्रहार गरेको आरोपमा घटनास्थलबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारा सहरका ४१ वर्षीय तेत्सुया यामागामी रहेका छन् । 

तेत्सुयाले पूर्वप्रधानमन्त्रीलाई पछाडिबाट गोली हानेका थिए। उनको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ। उनी जापानी नौसेनाका पूर्वसैनिक भएको बताइएको छ।

को हुन् आबे

शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए।
पछि उनले आफू पेटको रोगबाट पीडित भएको बताए।योशिहिदे सुगा उनको उत्तराधिकारी बने। त्यसपछि फुमिओ किशिदा जापानको प्रधानमन्त्री बनेका थिए ।