काठमाडौँ  / विदेशी मुद्राको अभावका कारण आर्थिक सङ्कट ब्यहोरिरहेको श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । इन्धन अभावका कारण पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो।

शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ।

OM Sai Pathibhara Hospital

विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।

देशका ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको जानकारी दिएका थिए। देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ।

श्रीलङ्काका अधिकांश पेट्रोल पम्पहरूमा निकै लामो लाइन देखिने गरेको छ। श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न भन्दै अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साता रोक्ने घोषणा गरेको थियो।

सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित अधिकांश पेट्रोल पम्प बन्द छन्। देशको दुई तिहाइभन्दा बढी व्यक्तिलाई यातायात सेवा दिइरहेका निजी स्वामित्वमा रहेको बसले इन्धन अभावका कारण नराम्ररी प्रभावित भएको छ।

विदेशी मुद्राको अभावका कारण आर्थिक सङ्कट ब्यहोरिरहेको यस मुलुकमा अति आवश्यक सामग्रीको आयातलाई पनि धान्न नसकेपछि दुई करोड २० लाख जनताले कठिनाइ भोग्दै आएका छन्।