काठमाडौं / नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकलर ताजिकिस्तानका लागि राजदूतामा नियुक्त भएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राजदूत र्यान्डी बेरी नामिबिया र नियोग उपप्रमुख मिकलरलाई ताजकिस्तानका लागि राजदूतमा नियुक्त गरेको हो ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको र मिकलरलाई ताजिकिस्तानको राजदूतमा नियुक्त गरेका हुन् ।
सन् १९९३ मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनीतिज्ञको भूमिका निर्वाह गरिसकेका छन् ।
उनले सन् २००७ देखि २००९ सम्म नेपालस्थित अमेरिकी दूतावासमा ‘डेपुटी चिफ अफ मिसन’ का रुपमा काम गरिसकेका छन् । बेरीले अकल्याण्ड, न्युजिल्याण्डमा कन्सुल जेनरलको भूमिका पनि निभइसकेका छन् ।
उनी समलंगी अधिकारकर्मी समेत हुन् । पुरुष समलिंगी पनि हुन् । तत्कालीन राष्ट्रपति बराक ओबामाले उनलाई अमेरिकाको समलिंगी अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दूतमा नियुक्त गरेका थिए ।
त्यस्तै हाल दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत मिकलर अमेरिकाको परराष्ट्र सेवाका करियर डिप्लोम्याट हुन् । उनी नेपालस्थित अमेरिकी दूतावासको नियोग उपप्रमुख भएर आउनुभन्दा पहिले मङ्गोलियाको उलानबाटारमा रहेको अमेरिकी दूतावासमा मिसनका उपप्रमुख थिए ।
मिकलरले वाशिङ्टन डीसीमा विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली ब्यूरो अन्तर्गत भारत मामिलाको कार्यालयमा उपनिर्देशकको रूपमा पनि काम गरेका थिए ।