विराटनगर / नेपाल आयल निगमले इन्धनमा गरेको मूल्यवृद्धि विरुद्ध विराटनगरमा म्याजिक भेन चालकले चक्काजाम गरेका छन् ।

पेट्रोल, डिजेललगायत इन्धनमा गरेको चर्को मूल्य वृद्धि विरुद्ध सोमबार बिहान कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवंशी चोकमा सवारी साधन रोकेर यातायात अवरुद्ध पारेका हुन् ।

OM Sai Pathibhara Hospital

सवारी चालकहरूले बढेको मूल्य फिर्ता हुनुपर्ने माग राख्दै यातायात अवरोध गरेपछि विद्यालय बस र एम्बुलेन्स समेत सडकमै रोकिन पुगेका छन् । सर्वसाधारणलाई बढेको मूल्यमा यात्रा गराउन नसक्ने बताउँदै यातायात क्षेत्रको समेत भाडा वृद्धि गर्नुपर्ने माग गरिएको छ ।

आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ । मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।