पोखरा । पोखरामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि प्रशासनले आपूर्ति सहज बनाउन ठूलो परिमाणमा ग्यास बजारमा पठाउने तयारी गरेको छ। आज मात्रै १० हजार सिलिन्डर ग्यास पोखराका बजारमा पुग्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
साउनको पहिलो सातादेखि ग्यास अभाव भएपछि उपभोक्ता खाली सिलिन्डर बोकेर डिपोअघि घण्टौँसम्म लाइन बस्न बाध्य थिए। यही समस्या कम गर्न प्रशासनले शुक्रबारदेखि ग्यास डिपोमा मात्रै निर्भर नरही किराना पसलबाट समेत ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको छ।
जिल्ला अनुगमन समिति कास्कीले गगनगौंडास्थित दुई ग्यास उद्योगमा अनुगमन गर्दै बजारमा पठाइने ग्यासको अवस्थाबारे जानकारी लिएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार विभिन्न कम्पनीबाट गरी करिब १० हजार सिलिन्डर पोखरा भित्रिने छन्।
गृहलक्ष्मी ग्यासले मात्रै ३ हजारभन्दा बढी सिलिन्डर बजारमा पठाउने तयारी गरेको छ। शक्ति ग्यासले करिब २ हजार ५ सय, बाबाले १ हजारभन्दा बढी तथा जानकी र नेपाल ग्यासले पनि १ हजारभन्दा बढी सिलिन्डर पोखरा पठाउने तयारी गरेका छन्।
त्यसैगरी, सोमबारका लागि गृहलक्ष्मी ग्यासका चार बुलेट ग्यास भारतबाट पोखरातर्फ हिँडिसकेको कम्पनीले जनाएको छ।प्रशासनले भने बजारमा ग्यास पुगे पनि कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि हुन नदिन अनुगमनलाई तीव्र बनाएको जनाएको छ।






































