काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आदिवासी समुदायको परम्परागत ज्ञान, संस्कृति र योगदानलाई राष्ट्रिय समृद्धिसँग जोड्दै विकास प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

विश्व आदिवासी दिवसका अवसरमा जारी शुभकामना सन्देशमा एमालेले नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गरेको छ। पार्टीले आदिवासी समुदायले जल, जंगल, जमिन तथा प्रकृति संरक्षणमा पुर्‍याउँदै आएको योगदानलाई राष्ट्रिय सम्पत्तिका रूपमा सम्मान गर्नुपर्ने धारणा राखेको छ।

एमालेले आदिवासी समुदायका मौलिक भाषा, संस्कृति, भेषभूषा र परम्परालाई नेपालको साझा सांस्कृतिक सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। साथै, संविधानले सुनिश्चित गरेको समान अधिकारका आधारमा समावेशी तथा सहभागितामूलक प्रतिनिधित्वलाई कार्यान्वयन गर्दै आएको दाबी पनि गरेको छ।

पार्टीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सबै समुदायको साझा प्रयास, सहकार्य र एकता आवश्यक रहेको उल्लेख गरेको छ। विविधतालाई राष्ट्रको शक्ति र सम्पत्तिका रूपमा आत्मसात् गर्दै आपसी सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्नेमा एमालेले जोड दिएको छ।