डोल्पा । देशमा डिजिटल सेवा र फोरजी विस्तारको चर्चा चलिरहेका बेला हिमाली जिल्ला डोल्पाका दुई वडा भने एक महिनादेखि सामान्य मोबाइल फोन सेवासमेत नपाएर सञ्चारविहीन बनेका छन्।
त्रिपुरासुन्दरी नगरपालिकाका वडा नम्बर ५ र ६ मा नेपाल टेलिकमको टावर बन्द भएपछि करिब तीन सय घरधुरी प्रत्यक्ष प्रभावित भएका छन्। गाउँमा फोन नलागेपछि स्थानीय सामान्य कुराकानी गर्नसमेत अग्ला डाँडाकाँडा चढ्नुपर्ने अवस्थामा पुगेका छन्।
आपत् पर्दा कसलाई खबर गर्ने ?
सञ्चार सेवा बन्द हुँदा सबैभन्दा ठूलो समस्या आपत्कालीन अवस्थामा परेको स्थानीयको गुनासो छ। कुनै घटना, दुर्घटना वा बिरामी परे तत्काल प्रहरी, स्वास्थ्य संस्था वा प्रशासनसँग सम्पर्क गर्नसमेत कठिन भएको छ।इलाका प्रहरी कार्यालय करवगाड–खदाङका अनुसार टावर नहुँदा गस्तीका क्रममा कुनै आकस्मिक घटना भए तत्काल जिल्लामा सूचना पठाउन समस्या भइरहेको छ।विद्यालयको दैनिक कामकाज र सूचना आदानप्रदानसमेत प्रभावित भएको स्थानीय विद्यालयका प्रधानाध्यापकले बताएका छन्।
टावर बिग्रियो, मर्मत गर्न गएको टोली बाटैमा रोकियो
नेपाल दूरसञ्चार प्राधिकरण डोल्पाका अनुसार टावरमा विद्युत् र सोलार ब्याट्रीको समस्या देखिएको छ। मर्मतका लागि नेपाल टेलिकमको कर्णाली प्रदेश कार्यालयबाट प्राविधिक टोली पुगे पनि सडक अवरुद्ध हुँदा टोली टावरसम्म पुग्नै नसकी फर्किएको थियो।टावरमा विद्युत् प्रसारण लाइन विस्तारको काम सकिए पनि प्राविधिक समस्या बाँकी रहेको अधिकारीहरूको भनाइ छ।
फोरजीले बढायो समस्या
अधिकारीका अनुसार टावरमा फोरजी सेवा जडान गरेपछि पुरानो सोलार प्रणालीले पर्याप्त काम गर्न नसक्दा समस्या थपिएको हो। अब तत्कालका लागि फोरजी बन्द गरेर भए पनि टुजी सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। सम्बन्धित निकायले विद्युत् प्राधिकरणसँग समन्वय गरी टावर चाँडै सञ्चालनमा ल्याउने जनाएको छ।






































