काठमाडौँ / जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा सात करोड रुपैयाँ मूल्य पर्ने जग्गा किर्ते गरी बिक्री गर्ने गिरोह पक्राउ परेको छ।
पक्राउ पर्नेमा दार्चुलाको साविक उकु गाविस –६ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका– बस्ने वर्ष ५६ को महावीर चन्द (नक्कली तारानिधी लोहनी), सिन्धुपाल्चोकको थकनी गाविस –३, हाल मेलम्ची नगरपालिका–४ घर भई हाल ललितपुर सुनाकोटी बस्ने वर्ष ४१ को गणेश बहादुर खनाल, सोलुखुम्बुको साविक नेले गाविस –४ हाल परिवर्तित थुलुङ दूधकोशी गाउँपालिका–१ घर भइ बूढानीलकण्ठ –२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की, नुवाकोटको साविक दाङसिङ गाविस –८ हाल परिवर्तित तारकेश्वर गाउँपालिका–१ घर भइ हाल काठमाडौं बनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको साविक काभ्रेस्थली गाविस –२, घर भइ हाल बनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठ रहेका छन्।
उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार उनीहरूले २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका –२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा किर्ते कागजपत्र बनाएर बिक्री गरेका हुन् ।
प्रहरीले उनीहरूबाट नक्कली नेपाली नागरिकताका प्रमाणपत्र थान –४, जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नक्कली तारानिधी लोहनीको नामको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जा, विभिन्न व्यक्तिको नाममा जारी भएका जग्गा धनी दर्ता श्रेस्ता लगायतका सामग्री बरामद गरेको छ।
पक्राउ परेको गिरोहले विभिन्न स्थानका अन्दाजी ४ विघाहा जग्गासमेत विभिन्न किर्ते कागजातहरूको आधारमा नक्कली कम्पनी तथा जग्गा धनीहरू समेत खडा गरी बिक्री तथा धितो बन्धक राखी विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने तयारी गरेको पाइएको प्रहरीले जनाएको छ।