काठमाडौं / अष्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै २१ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका –१ घर भएका ३२ वर्षीय रूपेश कार्की रहेका छन् ।
डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया र क्यानडा पठाउँछु भनेर पोखरा र काठमाडौंका २ जना महिलालाई ठगेको आरोपमा कार्कीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार कार्कीले पोखरा महानगरपालिका –१६ बिरौटा घर भएकी २२ वर्षीया एक महिलालाई क्यानडा पठाइदिने भन्दै ११ लाख ७१ हजार रुपैयाँ र काठमाडौं महानगरपालिका –३२ पेप्सीकोला बस्ने २८ वर्षीया अर्की युवतीलाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउँछु भनेर ९ लाख ७५ हजार रुपैयाँ ठगेको अनुसन्धानबाट थाहा भएको छ ।
ठगी मुद्दामा प्रहरीले उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपी काठमाडौंको हाँडीगाउँ बस्दै आएका छन् ।