काठमाडौँ  / प्रतिनिधिसभाको आजको बैठकले तीन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। 

बैठकले ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।

OM Sai Pathibhara Hospital

अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए। सभामुख सापकोटाले आर्थिक विधेयक २०७९ माथि दफावार छलफलका लागि यही असार ६ गतेको मिति तोकेका छन्। 

राष्ट्र ऋण उठाउने विधेयक माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले आवश्यक पर्दा मात्रै ऋण उठाइने गरिएको जानकारी दिए।

उनले पुँजीगत खर्च बढाउने सन्दर्भमा उठेको प्रश्नको जवाफमा कतिपय कानुन संशोधन आवश्यक भएको र त्यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आवश्यक प्रक्रिया सुरु गरेको जानकारी दिए। 

ऋणलाई निरुत्साहित गरेर उत्पादनलाई प्रोत्साहित गर्ने कुरामा जोड दिनु आवश्यक भएको उनले जानकारी दिए।

‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्तावका सन्दर्भमा सांसदहरुले उठाएको प्रश्नकोसमेत अर्थमन्त्री शर्माले जवाफ दिएका थिए।  

बैठकमा सांसदहरुले विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षक माथि राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।