काठमाडौं / पछिल्लो समय नेपालका धेरै कम्पनीहरूले सामाजिक सञ्जाल र इन्टरनेट प्लेटफर्म मार्फत विज्ञापन गर्दा गैरकानुनी रुपमा भुक्तानी गर्ने गरेको पाइएको छ । 

नेपालको कानुनले यस्ता प्लेटफर्ममा विज्ञापन गर्न नेपाली कम्पनीहरूलाई छुट नदिएको कारण भुक्तानी गर्न गैरकानुनी बाटो अपनाइएको हो । 

OM Sai Pathibhara Hospital

विदेशी सञ्चार प्लेटफर्ममा नेपाली कम्पनीहरूले विज्ञापन गर्न पाउने नपाउने विषय उल्लेख नगरिएकाले पनि यस्ता विज्ञापनको भुक्तानी पनि गैरकानुनी रुपमा गर्दै आएका छन् । 

सार्वजनिक सञ्चारमाध्यममा विज्ञापन गर्न महँगो पर्ने र प्रभावकारिता पनि कम हुने भन्दै कम्पनीहरूले यस्ता प्लेटफर्ममा विज्ञापन गर्न आकर्षित भएका हुन् ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले नेपाली कम्पनीहरूले विदेशी इन्टरनेट प्लेटफर्ममा विज्ञापन गर्न पाउने कानुनी व्यवस्था नभएको बताएका छन् । 

इन्टरनेट प्लेटफर्ममा नेपाली निकायहरूले गरिरहेको विज्ञापनलाई कानुनी दायरामा ल्याउनको लागि काम गरिरहेको समेत उनले बताएको छन् ।

विदेशका इन्टरनेट प्लेटफर्ममा गरेको विज्ञापनको भुक्तानी नेपाली कम्पनीहरूले विदेशी मुद्रामा नै गर्नुपर्ने हुन्छ ।

हजारौं नेपाली वस्तु तथा सेवा उत्पादन गर्ने उद्योग, कम्पनी, कलेज, लगायत धेरै कर्पोरेट हाउसले गैरकानुनी रुपमा विदेशी इन्टरनेट प्लेटफर्मको प्रयोग गरेर विज्ञापन गरिरहेका छन् । 

नेपाली वस्तु तथा सेवाको उत्पादन गर्ने कम्पनी तथा विभिन्न संस्थाहरूले विदेशी विज्ञापन प्लेटफर्मको प्रयोग गरेर विज्ञापन गर्न पाइने कानुनी व्यवस्था रहेको छैन ।

विज्ञापन सम्बन्धी क्रियाकलापको नियमन गर्नको लागि विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को व्यवस्था रहेको भएपनि इन्टरनेटका विदेशी प्लेटफर्म र विश्वव्यापी सामाजिक सञ्जालमा विज्ञापन गर्ने सम्बन्धमा कुनै व्यवस्था रहेको छैन ।

मुलुकभित्रको कुनैपनि निकायले आफ्नो वस्तु तथा सेवाको सूचना प्रकाशन वा प्रसारण गर्दा राज्यलाई अनिवार्य रुपमा कर बुझाउनुपर्ने हुन्छ ।

तर, कानुनी व्यवस्थामा नै नभएको विदेशी इन्टरनेट प्लेटफर्ममा विज्ञापन गर्नेहरूले विज्ञापन वापत राज्यलाई कर बुझाएका छन् कि छैनन् भन्ने विषयमा छानविन गर्न नीति र नियम बनाउन आवश्यक देखिन्छ ।