काठमाडौं–आज छठ पर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधि सम्पन्न गर्ने तयारीमा छन्। यस दिन बिहान पवित्र स्नान गरी दिनभर निराहार उपवास बस्ने परम्परा अनुसार, बर्तालुले राति सक्खर, दूध र स्थानीय जातको धानको चामल मिसाएर पकाइएको खिर छठी देवीलाई चढाउनेछन्। त्यसपछि उक्त खिर प्रसादको रूपमा ग्रहण गरिन्छ। ‘खरना’लाई श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिको प्रतीक मानिन्छ।
भोलि तेस्रो दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा साँझपख बर्तालुले जलाशयमा बनेको घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिने परम्परा रहेको छ। यसलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिएर छठ पर्वको समापन गरिन्छ, जसलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।
छठ पर्वमा विशेष महत्वका साथ बनाइने प्रसाद ठकुवा र भुसुवा परिकारलाई स्थानीय परम्परागत साधन जस्तो ढिकी र जाँतोमा कुटिएको पिठोबाट तयार गरिन्छ। मिथिला लोकसंस्कृतिमा आधारित यो पर्वमा विभिन्न धर्म र समुदायको सहभागिता बढेको देख्न पाइन्छ। यसले पर्वलाई साझा पहिचान प्रदान गरेको छ।