काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल पार्टी एकताप्रति असहमति जनाउँदै आएका भए पनि अन्ततः माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकहरूसँग भएको एकता घोषणा सभामा सहभागी भएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार भएको एकता सभामा उनको उपस्थिति अप्रत्याशित मानिएको छ। केही दिनअघि मात्र उनले पार्टी नेतृत्वको निर्णयको विरोध गर्दै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने चेतावनी दिएका थिए।

खनालले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमति जनाउँदै आफ्नै नेतृत्वमा नयाँ संगठन बनाउने तयारीको संकेत दिएका थिए। तर, प्रचण्ड र माधवकुमार नेपालसँग बुधबार भएको वार्तापछि उनी एकता सभामा सहभागी भएका हुन्। यस उपस्थितिलाई उनले अन्ततः प्रचण्ड–माधव पक्षमै उभिएको संकेतका रूपमा हेरिएको छ।

वार्तामा सहभागी महासचिव घनश्याम भुसाल भने एकता प्रक्रियाबाट अलग रहने निर्णयमा अडिग रहेका छन्।

खनालले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुस्थित निवासमा भेटेका थिए। सो भेटपछि उनको आगामी राजनीतिक कदमबारे विभिन्न अड्कलबाजी भइरहेका थिए। तर, ओलीसँगको भेटको भोलिपल्टै प्रचण्ड–माधव नेतृत्वको कार्यक्रममा उनको सहभागिता अर्थपूर्ण रूपमा व्याख्या गरिएको छ।