पोखरा— कास्कीको पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठूलो रकम हिनामिना गरेको आरोपमा सञ्चालक समिति र कर्मचारीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद सुवेदी र पूर्वसचिव एवं वर्तमान सदस्य इन्द्रप्रसाद दुवाल रहेका छन्।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले पठाएको छानबिन प्रतिवेदनका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

वित्तीय विश्लेषक निर्मल गौतमको नेतृत्वमा बनेको अध्ययन समितिले सहकारीको करिब ८९ करोड रुपैयाँ पदाधिकारी र कर्मचारीको मिलेमतोमा हिनामिना भएको निष्कर्ष निकालेको छ।

प्रहरीले पक्राउ परेका सात जनामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।