काठमाडौं- सत्ता सहकार्यलाई सहज बनाउन भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले संघ, प्रदेश र जिल्ला तहमा संयन्त्र निर्माण गरेका छन् ।
प्रतिपक्ष दलले गठबन्धनमा समस्यामा फस्न लागेको आरोप लगाइरहेका बेला दुई दलले संयन्त्र बनाएका हुन् ।
‘सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन र सत्ता साझेदारबीच आवश्यक समन्वय गर्नेगरी संयन्त्र बनाइएको हो’, एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘केही समय अघि बनेको संयन्त्रलाई औपचारिकता दिएर अगाडि बढेका छौं ।’
संयन्त्रले गठबन्धन निर्माणका बेला भएको संविधान संशोधन लगायत सात बुँदे सहमति कार्यान्वयन र सरकारको साझा न्यनुतम कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान भूमिका खेल्ने नेताहरुको भनाइ छ ।
संयन्त्रको शीर्ष तहमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहने गरी आठ सदस्य छन् ।
दुई दलीय संयन्त्रमा कांग्रेसका उपसभापति पूणर्बहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल रहेका छन् ।
प्रदेश तहको संयन्त्रमा पार्टी इन्चार्ज, अध्यक्ष र संसदीय दलको नेता सदस्य हुनेछन् । जिल्ला संयन्त्रमा इन्चार्ज, अध्यक्ष र सचिवलाई पठाउने मोडालिटी तयार भएको गौतमले बताए ।