काठमाडौं / स्थानीय तहको निर्वाचनमा मुलुक तातिएको समयमा सत्तामा पुग्नका लागि नेताहरू जनताको घर दैलोमा पुग्ने क्रम सकिएसँगै अहिले मौन अवधि चलिरहेको छ ।
निर्वाचनमा मतदाताले आफ्नो अनुकूलतामा मतदान गर्नेछन् भने कतिपय ठाउँमा झुक्याएर , छलेर वा अन्य उपायले अर्कैको नाममा मतदान गर्ने सम्भावना प्रचुर रहेको छ ।
मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य प्रमाणका आधारमा समेत मतदान गर्न सकिने निर्वाचन आयोगले व्यवस्था गरेको छ ।
स्थानीय तह निर्वाचन निर्देशिकाको दफा १५१ अनुसार आफ्नो नाममा अर्कैले मत खसालेमा वास्तविक मतदाताले मतदान गर्न पाउने र त्यस्ता मतलाई ‘निविदा मतपत्र’ मानेर मतपेटिकामा नभएर छुट्टै खाममा राखिने गरिन्छ ।
कुनै मतदाता मतदान केन्द्रमा जाँदा उसको नाममा अर्कैले मत खसालेको अवस्थामा सो व्यक्तिले मतदान अधिकृतलाई वास्तविक मतदाता आफू रहेको पुष्टि गर्न सके आफ्नो मत पुन: दावी गर्न पाउने छ ।
मतदान अधिकृतले निविदा मतपत्रको छुट्टै लगत राख्नुपर्छ र मतपत्रमा पनि ‘निविदा मतपत्र’ लेख्नु पर्नेछ ।
त्यस्तो मतपत्र गणना नगरिएपनि निर्वाचन सम्बन्धी उजुरी परेमा र निर्णय गर्न आवश्यक पर्ने भन्दै अदालतले ठहर गरेमा निविदा मतपत्रहरू समेत गणना गर्ने र त्यसका आधारमा मतगणनाको नतिजा सार्वजनिक गर्नुपर्ने हुन्छ ।