एजेन्सी श्रीलङ्कामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइ दिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरूलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ ।

आर्थिक सङ्कटका कारण श्रीलङ्काका नागरिकहरूले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका थिए । तर पनि श्रीलङ्काका नागरिकको आक्रोश थामिएको छैन ।

OM Sai Pathibhara Hospital

उनीहरूले मंगलबार राजापाक्षेको एक घरलाई जलाइदिएका छन् । सुरक्षाकर्मीले तत्कालै राजापाक्ष र उनका परिवारका सदस्यहरूलाई सो घरबाट उद्धार गरेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास र हवाई फायर गरेका थिए ।
प्रधानमन्त्री राजापाक्षे र उनको परिवारका सदस्यहरूलाई सुरक्षाकर्मीले घरबाट बाहिर निकालेर पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौसैनिक अड्डामा लगेर राखेको बीबीसीको समाचारमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार सोमबार राति श्रीलङ्कामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरूको घरमा आगजनी भएको छ । उनीहरूले पनि अन्यत्र शरण लिएर बसिरहेको बताइएको छ ।
श्रीलंकामा बुधबारसम्मका लागि कर्फ्यु जारी गरे पनि विरोध प्रदर्शन जारी छ । मंगलबार राजधानीका सडक सुनसान देखिए पनि रातिमा हिंसात्मक प्रदर्शनहरू भएका बीबीसीले जनाएको छ । सोमबारदेखि मङ्गलबारको अवधिमा सात जनाको मृत्यु भइसकेको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रदर्शनकारीले गाडीहरूमा आगजनी र तोडफोड गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेको घर अगाडि ठूलो सङ्ख्यामा प्रदर्शनकारी भेला भएका छन् । उनीहरूले उनको पनि राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।