एजेन्सी / भारतको नेशनल इनभेस्टिगेशन एजेन्सी (एनआईए) ले कुख्यात डन दाउद इब्राहिमको २० भन्दा बढी ठेगानामा छापा मारेको छ। 

एनआईएले सोमबार भारतको मुम्बाइ शहरको विभिन्न ईलाकामा शार्प सुटर र तस्करहरु समेत रहेको अनुमानमा छापा मारेको हो।

OM Sai Pathibhara Hospital

छापा मारिएको क्षेत्रमा दाउदको नजिक मानिने छोटा शकील, जावेद चिकना, टाइगर मेनन, इकबाल मिर्ची, दाउदकी बहिनी हसीना पारकर लगायतको बसोबास रहेको बताइएको छ। 

देशविरोधी काम र अवैध रकम असुलीको आरोपमा एनआईएले सोमबार गुप्त कारबाही गरेको बताइएको छ।

गत फेब्रुअरीमा गृह मन्त्रालयको आदेशमा एनआईएले दाउद इब्राहिम (डी कम्पनी)को विरुद्धमा मुद्दा दायर गरेको थियो। सोही मामिलामा यो छापा मारिएको हो।

दाउदलाई भारतले ‘भगौडा आतंकवादी’ को संज्ञा दिएको छ। यस्तै सन् १९९३ को बम विस्फोटको मुख्य आरोपी दाउदको टाउकोमा २५ मिलियन डलरको पुरस्कार छ। डी कम्पनीलाई संयुक्त राष्ट्रसङ्घले प्रतिबन्धित आतङ्कवादी संगठन घोषित गरेको छ।

भारतले लामो समयदेखि दाउद पाकिस्तानमा लुक्दै आएको बताउने गरेको छ। दिल्ली पुलिसले उनको पछिल्लो कल नोभेम्बर २०१६ मा रेकर्ड गरेको थियो।