बिर्तामोड / झापाको मेचीनगर –१५ स्थित ज्यामिरगढीबाट दाइजो मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका –४ का २८ वर्षीय डेबिट चौधरी रहेका छन् । 

हिजो (शुक्रबार) साझ बेहुली अन्माउने बेलामा बेहुलाले दाइजोमा मोटरसाइकल नदिए बेहुली नलाने भन्दै धम्की दिएपछि बेहुलीका बुबा पुष्पलाल राजवंशीले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएका थिए । 

OM Sai Pathibhara Hospital

राजवंशीले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटेको टोलीले चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।  

प्रहरीले चौधरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर विवाहमा लेनदेन गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको डीएसपी पाठकले बताए । 

ऐनको दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल या अचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको शर्त राखी विवाह गर्न नहुने व्यवस्था गरिएको छ । 

विवाहमा दाइजो मागेमा वा लेनदेनको शर्त राखेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुने ऐनमा उल्लेख छ ।

कानुनले दाइजोलाई गैरकानुनी ठहर गरे पनि दाइजो संस्कारकै रुपमा विकसित हुँदै जानु विडम्बना पूर्ण हो ।

प्रतिस्पर्धात्मक तडकभडक र फजुल खर्चमा नियन्त्रण गरी सुधार गर्न ‘सामाजिक व्यवहार सुधार ऐन’ २०३३ सालमै निर्माण गरेको छ । 

तर, कानुन बनेको झन्डै चार दशक भन्दाबढी वितिसक्दा पनि यसको सबल कार्यान्वयन नहुनु दुःखद् विषय हो भने कुनै व्यक्तिलाई बाध्य बनाई दाइजो लिने कार्य एक हिसाबले भन्ने हो भने सामाजिक अपराध नै हो ।