एजेन्सी / युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ ।

आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ ।

OM Sai Pathibhara Hospital

“क्रमातोस्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी संकलन गर्दै छौँ,” रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामीशिनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसैबीच रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । 

संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायतका पदार्थको मूल्य अत्यधिक धेरै भएको हो ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको र अहिले पनि युद्ध भइरहेकोले मार्च महिनामा त्यसको असर अत्यन्त धेरै देखिएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । 

युद्धका कारण अन्तर्राष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा पनि परेको बताइएको छ ।

युद्ध नरोकिएमा यो क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्युन आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसंघले चिन्ता पनि व्यक्त गरेको छ । राष्ट्रसंघले तत्काल युद्ध अन्त्य गरी वार्तामार्फत विवाद समाधान गर्न दुवै पक्षलाई पटक पटक आग्रह पनि गर्दै आएको छ ।