एजेन्सी / यमनका राष्ट्रपति अब्द–रब्बु मन्सुर हादीले बिहीवार राष्ट्रपतीय परिषदलाई सत्ता हस्तान्तरण गर्दै आफ्नो उपाध्यक्षलाई वर्खास्त गरेका छन् । उनको यो कदम सात वर्ष लामो गृहयुद्धको अन्त्यका लागि संयुक्त राष्ट्र संघको नेतृत्वमा वार्ता ब्युँताउने प्रयासलाई समर्थन गर्ने उद्देश्यले प्रेरित रहेको बताइएको छ ।

राष्ट्रपति हादीको यस घोषणालगत्तै साउदी अरेवियाले साउदी समर्थित यमनी सरकारलाई तीन अर्ब अमेरिकी डलर वरावरको आर्थिक सहयोग उपलब्ध गराउने निणर्य गरेको छ ।

OM Sai Pathibhara Hospital

साउदीले यमनको उत्तरी भाग कब्जा गरेर बसेको तथा साउदी नेतृत्वमा रहेको सरकारसँग युद्ध गर्दै आएका लडाकु समूह हौथीसँग वार्ताका लागि आह्वान गरेको छ ।

यमनका युद्धरत पक्षले शनिवारदेखि लागु हुनेगरी दुई महिनाका लागि युद्धविराम घोषणा गरेका छन् । सन् २०१६ पछि पहिलो पटक यमनमा युद्धविराम सम्भव भएको हो । युद्धविराम सम्झौता अनुरुप हौथीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा गठबन्धन सरकारको अवरोध लचिलो बनाइने भएको छ ।

हौथीले सन् २०१४ मा हादीको सरकारलाई राजधानी सानाबाट अपदस्थ गरेको थियो । हाल रियादमा रहेका उनले सरकारी टेलिभिजनमार्फत सत्ता हस्तान्तरणको घोषणा गरेका हुन् । हौथीले यस नयाँ राजनीतिक कदमलाई स्वीकार गर्ने अनुमान राजनीतिक विश्लेषकहरुले गरेका छन् ।

सरकारी संचार माध्यमको भिडियोमा साउदी शासक युवराज मोहम्मद विन सलमान रसद अल-अलिमीको नेतृत्वमा रहेको आठ सदस्यीय राष्ट्रपतिय परिषदका सदस्यहरुसँग भेटघाट गरिरहेको देखिन्छन् । रसदको रियाद र यमनी ब्लक इस्लामिक इस्लाह पार्टीसँग राम्रो सम्बन्ध रहेको छ ।