एजेन्सी / युक्रेनमाथि आक्रमणको जवाफस्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ ।

पुटिनकी छोरीबाहेक अमेरिकाले प्रधानमन्त्री मिखाइल मिसुस्तिन, रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती तथा छोराछोरी र पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री दिमित्री मेदभेदेवलगायत रुसको सुरक्षा परिषद्का सदस्यलाई पनि निशाना बनाएको छ ।

OM Sai Pathibhara Hospital

अमेरिकाले रुसी वित्तीय संस्थाहरूमाथि पनि उत्तिकै कडाइ गरेको छ । प्रतिबन्धसँगै पुटिनका परिवारका सबै नजिकका सदस्यहरू अमेरिकी वित्तीय प्रणालीबाट अलग हुनेछन् । अमेरिकामा रहेको उनीहरूको सम्पत्ति रोक्का हुनेछ ।

रुसी राष्ट्रपतिका छोरीहरू ३७ वर्षीया मारिया भोरोन्तोभा र ३५ वर्षीया कतरिना तिखोनोभा पूर्वपत्नी ल्युडमिला पुटिनातर्फ जन्मिएका हुन् । त्यसो त पुटिनका छोरीहरूबारे थोरै मात्र जानकारी सार्वजनिक हुने गरेको छ । उनीहरूको विवरण प्रायः गोप्य राखिन्छ ।

मारियाको जन्म सन् १९८५ मा सेन्ट पिटर्सबर्गमा भएको हो । अर्को वर्ष, कतरिनाको जन्म भएको थियो ।कतरिनाको जन्मको समयमा पुटिको परिवार जर्मनीमा थियो । त्यतिबेल पुटिन रूसको गुप्तचर सेवा केजीबीमा विदेशी गुप्तचर अधिकारीको रूपमा कार्यरत थिए ।

पुटिनको पुटिनासँग सन् २०१३ मा सम्बन्ध विच्छेद भएको थियो । मारियाले सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटीबाट जीवविज्ञानमा स्नातक र २०११ मा मस्को स्टेट युनिभर्सिटीबाट जीवविज्ञानमा स्नातकोत्तर गरेकी थिइन् ।

रिपोर्टअनुसार उनी बाल चिकित्सक हुन् । मारिया र उनको डच व्यापारी श्रीमान् जोरिट फासेनबीच गत महिना सम्बन्ध विच्छेद भएको बताइन्छ । अर्कोतर्फ कतरिना मस्को स्टेट युनिभर्सिटीको इन्स्टिच्युट फर म्याथेमेटिकल रिसर्च अन कम्प्लेक्स सिस्टम्सकी उपनिर्देशक हुन् । उनी विगतमा एक्रोबेटिक डान्सर पनि थिइन् । उनको व्यक्तिगत जीवन धेरै हदसम्म गोप्य छ ।