भोजपुर / आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि भोजपुरमा दुई युवालाई खोरमा राखिएको छ । 

भोजपुरको साल्पासिछो गाउँपालिका –२ का ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्बर चौहानलाई खोरमा राखिएको हो । 

OM Sai Pathibhara Hospital

मानसिक सन्तुलन गुमेका उनीहरूको आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि खोरमा राख्नु परेको बुबा छत्रबहादुर चौहानले बताए । छत्रबहादुरका अनुसार डेगराजलाई खोरमा राखेको सात वर्ष भयो भने डम्बरलाई राखेको दुई वर्ष भयो । 

उनीहरूलाई घरको सिकुवामा काठको खोर बनाएर राखिएको छ । छोराहरूलाई यसरी खोरमा राख्दा आफूलाई नै पीडा हुने छत्रबहादुर बताउँछन् । छत्रबहादुरका अनुसार उनीहरूको काठमाडौँमा रहेको पाटन अस्पतालमा उपचार गराएको भएपनि रकम अभाव भएका कारण घरमा ल्याएर राखिएको हो ।

अस्पताल लैजादा भएको सबै सम्पती सकिएका कारण अहिले छोराहरूलाई खान लाउन दिन सक्ने अवस्था समेत नरहेको छत्रबहादुरको भनाइ छ । 

छत्रबहादुर भन्छन्, –‘उपचारका लागि थुप्रै अस्पताल डुलाएँ केही सीप लागेन, घरको आर्थिक अवस्था कमजोर छ । उपचारमै पैसा सकियो । अहिले छोरालाई फेर्ने कपडासमेत छैन । एउटै कपडामा महिनौँ बिताउँछ ।’

उनीहरूलाई खोरमा थुनेर नराखे परिवारका सदस्य तथा बटुवालाई नै कुटपिट गर्ने, अपशब्द बोल्ने, बाहिर कुद्ने, मानिसलाई चिथोर्ने, बरबराउने लगायत क्रियाकलाप देखाउने गरेको बुबा चौहान बताउँछन् ।