एजेन्सी / शान्ति स्थापनार्थ कङ्गोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेका थिए ।
संयुक्त राष्ट्रसंघले आक्रमणबाट एक जना नेपाली सेनाको मृत्यु भएको पुष्टि गरेको हो। तर ती सैनिकको परिचय खुलाइएको छैन । संयुक्त राष्ट्रसंघका महासचिवले शोक विज्ञप्ति जारी गरी मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शान्ति सेनामाथि गरिएको आक्रमणको निन्दा गरेका छन् ।
नेपाली सेनाको मुख्यालयका अनुसार कर्डन एण्ड सर्चको कारबाही सञ्चालन गरी विद्रोहीको स्थान कब्जा गरिसकेको अवस्थामा अज्ञात स्थलबाट आक्रमण भएको थियो । आक्रमणबाट घाइते सैनिकलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको थियो ।
संयुक्त राष्ट्रसंघबाट जारी विज्ञप्तिमा मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरिएको छ । साथै शान्ति सैनिकहरुमाथि आक्रमण गर्नु युद्ध अपराध हुने भन्दै राष्ट्र संघले यस घटनाको छानबिन गरी दोषिलाई कानुनी कठघरामा ल्याउन कंगोका अधिकारीहरुलाई आग्रह गरेको छ ।